
फागुन १०, दैलेख
दैैलेखको दुर्गम आठविस नगरपालिकामा सञ्चालन भएको स्वास्थ्य चौकीमा अहिले सिनियर अहेव मार्फत सेवा सञ्चालन हुँदै आएको छ । सामान्य बाहेकका सबै उपचार गर्नका लागि स्थानीयहरूले सवारी साधनमार्फत ७ घण्टाको यात्रा गरेर कर्णाली प्रदेश राजधानी सुर्खेत पुग्नुपर्ने अवस्था अहिले पनि कायमै छ । दुर्गममा स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्नका लागि आठविस नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानीचच विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने सहमति भएपछि दुर्गममा पनि विशेषज्ञ सेवा पुग्ने आशा जनतामा पलाएको छ ।
एक सता भित्रै विशेषज्ञ सेवा प्रवाह गर्ने तयारी थालिएको छ । अहिले सञ्चालनमा आएको स्वास्थ्य चौकीमा आवश्यक उपकरण थप गर्ने जिम्मा आठविस नगरपालिकाले लिने भएको छ भने डाक्टरको सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदान गर्ने र तलब पनि स्वास्थ्य विज्ञान प्रतिष्ठानले बेहोर्ने गरी सम्झौता भएको छ । आठविस नगरपालिकाका जनताको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आर्थिक अवस्था कमजोर भएका नागरिकहरूको स्वास्थ्यमा सहज पहुँच बिस्तार गर्न यस्तो अभियान थालिएको आठवीस नगरपालिका प्रमुख खड्काराज उपाध्यायले जानकारी दिएका छन् । एक सय सैयाको ट्रमा सेन्टर निर्माणका लागि सहमतिमा हस्ताक्षर भएको छ, आर्थिक व्यवस्थापनका लागि केन्द्र र प्रदेश सरकारसँग यो वर्षबाटै प्रक्रिया थालनीको लागि माग गर्ने उपाध्यायले जानकारी दिएका छन् ।
स्थानीय स्तरमै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नका लागि कर्णाली विज्ञान प्रतिष्ठानले गरेको सहयोग निकै महत्त्वपूर्ण रहेको नगर उपप्रमुख दीपा बोहोराले बताएकी छन् । दुर्गमका जनताको आर्थिक अवस्था निकै कमजोर भएको र विभिन्न सङ्क्रमणहरूबाट समस्यामा परेका नागरिकहरूका लागि विशेषज्ञ सेवा प्रभावकारी हुने बोहोराको भनाई छ ।









